‘उपहारमा कार पाउनुभयो’ भन्दै पुलिससँगै ८२ हजार रुपैयाँ ठगी

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | आम नागरिक ठगीमा पर्दा उजुरी गर्न जाने निकाय हो प्रहरी संगठन तर, प्रहरी कर्मचारीलाई नै कसैले ठगी गर्न सक्छ भने सर्वसाधारणको अवस्था के होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

भारतको उत्तर प्रदेश राज्यको बान्दामा ठगहरुको एउटा गिरोहले पुलिसलाई नै ठगी गरेको छ । सो क्षेत्रका एसपी अंकुर अग्रवालका अनुसार ठगीमा संलग्न एक सदस्यले एक जना प्रहरीलाई फोन गरेर ‘तपाईंको छोराले एउटा प्रतियोगितामा सफारी गाडी जितेको छ’ भन्दै फोन गरेका थिए ।


ठगीमा संलग्न गिरोहका तर्फबाट ती प्रहरीलाई आधार कार्ड, बैंक खाता र केही अन्य डिटेल मागिएको थियो । प्रतियोगितामा जितेको गाडी पठाउन आवश्यक प्रक्रिया पूरा गर्नका लागि भन्दै विभिन्न डकुमेन्ट र आवश्यक जानकारी चाहिएको भनेर उनीहरुले ती पुलिसलाई विश्वासमा पारेका थिए ।

तर केही समयपछि ती प्रहरीको बैंक खाताबाट ८२ हजार रुपैयाँ निकालिएको म्यासेज मोबाइल फोनमा आयो । त्यसपछि ती प्रहरीले आफ्नो बैंक खाता बन्द गरेर एसपी अंकुर अग्रवाललाई घटनाबारे जानकारी गराएको बताइएको छ ।

एसपी अग्रवालले तत्कालै कारबाही प्रारम्भ गर्दै झारखण्डमा बस्दै आएका ४ जनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएका छन् । ठगीमा संलग्न ती चार जना झारखण्ड निवासी रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!