दुई साता ढिलो गरी आजदेखि बाहिरिँदै मनसुन

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन यस वर्ष गत जेठ ३१ गते नेपाल प्रवेश गरेको हाे। मनसुनकाे बहिर्गमनसँगै वर्षायाम सकिएर हीउँदयाम सुरु भएकाे छ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ ते) भए पनि मनसुन औसत मितिभन्दा १३ दिन ढिलो बाहिरिएको हो। 

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन समय अक्टोबर २ तारिख हो। 

यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो। नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिएको थियो। 

असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू–भाग तथा बागमती प्रदेश र मधेस प्रदेशका आंशिक भू–भागबाट बाहिरिएको छ। 

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागबाट समेत मनसुन बाहिरीसकेको छ। “मनसुन पूर्ण रुपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ। आजै मनसुन विशेष बुलेटिन आउन सक्छ।”

  उनका अनुसार मनसुन अहिले कोसी प्रदेशमा केन्द्रित छ। मधेस र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ। हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आगामी केही दिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए।

अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। देशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!