काठमाडौँ–दिल्लीभन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महँगो, किन?

Posted on: 16 Oct, 2023

असोज २९, काठमाडौँ | काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् ।

निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा सात हजार नौसयबाट वृद्धि गरी सत्र हजारभन्दा बढी पुर्‍याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे ।


उनले भने,‘काठमाडौंदेखि नयाँ दिल्लीको हवाई भाडा सत्र हजारभन्दा कम छ,आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।’

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।

‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ’,उनले भने,‘चाडपर्वको बेला काठमाडौंबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौं जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।’

भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौं–धनगढीको भाडादर १४ हजार सातसय एकदेखि १७ हजार एकसय ८६ लिने गरिएको छ ।

धनगढीदेखि काठमाडौंसम्मको भाडा भने निम्नतम सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ ।

यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौंमा चार सय र धनगढीमा पाँच सय तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्ध एअर र श्री एअरलायन्सले काठमाडौं–धनगढी–काठमाडौंसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एअरलायन्सले चार उडान भर्ने गरेको छ ।

निजी क्षेत्रको समिट एअरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!