विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने– संविधानको भावनाअनुसार अगाडि बढ्छु

Posted on: 18 Oct, 2023

कार्तिक १, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई प्राप्त जिम्मेवारी प्रदेशको आर्थिक विकासको दायित्व भएको बताएका छन् । उनले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए ।  उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए ।

‘मध्यावधि निर्वाचनमा जान दिनुहुने छैन भन्ने माननीयज्यूहरुप्रति विश्वास व्यक्त गर्दछु । प्रदेश प्रदेश नै हो । प्रदेशको स्वनिर्णय हुन्छ । यसमा हामी सक्षम छौं । हामीलाई जनताले निर्णय गर्न पठाएका हुन् भन्ने भावनाका साथ आउनु भएको हो,’ उनले भने, ‘मलाई विश्वासको मत दिइसकेपछि मलाई डोर्याउनु पनि हुनेछ । मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई सरकारले कुनै रिसराग गर्नेछैन । संसदमा माननीयज्यूहरुले आफ्ना कुरा राख्नुहुनेछ । माननीयहरुले सरकारको निगरानी जति धेरै गर्नुहुन्छ सरकार सचेतपूर्वक अगाडि बढ्न सहयोग पुग्नेछ ।’


उनले संविधानले दिएको अधिकार प्रयोग गर्न सचेततापूर्वक अगाडि बढ्ने पनि बताए । गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेशमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए । 

‘जनताको रगतले लेखिएको संविधानको धारा १६८ को (५) अनुसार मलाई विश्वासको मत दिँदैहुनुहुन्छ । यसका लागि माननीयज्यूहरुप्रति नमन गर्न चाहन्छु । नेपालको संविधानको भावना अनुसार, जनताआन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्याउने अनुसार काम गर्नुपर्नेछ । त्यही शिलशिलामा म आफूलाई दिएको विश्वासलाई ध्यानमा राखेर म अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु,’ कार्कीले भने । 

यसैबीच कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने भएका छन् । प्रदेशसभाको बैठक सुरु भएको छ । अहिले मुख्यमन्त्री कार्कीले प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रदेशसभाको सत्ता पक्षमा नेकपा एमाले र काँग्रेस बसेका छन् भने विपक्षी वेञ्चमा भने माओवादी, राप्रपा, नेकपा एस र जसपा बसेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!