ईपीएसमार्फत कोरिया जाने कामदारलाई थप कडाइ

Posted on: 20 Oct, 2023

कार्तिक ३, काठमाडौँ | दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिन्छ ।

यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बाँडिएको छ । अबदेखि कामदारले आफू आएको क्षेत्रमा मात्रै कार्यस्थल फेर्न सक्नेछन् । यस्तो नियमलाई प्रवासी मजदुर युनियन एमटियूले भने विरोध गरेको छ । विदेशी कामदारलाई बढी सुविधा दिनुपर्नेमा झन् कडा कडा नियम ल्याएर बँधुवा मजदुरको रुपमा व्यवहार गर्दै आएको एमटियूले जनाएको छ । पहिलेदेखि नै कार्यस्थल परिवर्तन गर्दा रोजदाताको अनुमति चाहिने गर्दछ ।

नेपाल, श्रीलंका, बंगालादेश लगायत १६ वटा देशबाट कामदार ईपीएसमार्फत कामदार कोरियामा आउँछन् । कोरियाली सरकारले गत जुलाईमै यस्तो नियम ल्याउने निर्णय गरेको थियो । मजदुर युनियनहरुको विरोधका कारण सेप्टेम्बरबाट नै लागू गर्ने नियम केही समय रोकिएको थियो । अहिले ईपीएसमार्फत कोरियामा काम गर्ने कामदारको संख्या चार लाखको हाराहारीमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!