धुलो दुध बनाउने कारखाना बन्द गर्दै नेस्ले

Posted on: 20 Oct, 2023

कार्तिक ३, काठमाडौँ | स्वीस बहुरार्ष्ट्रिय खाद्य उत्पादक कम्पनी नेस्लेले शिशुहरूका लागि धुलो दुध बनाउने आफ्नो एउटा कारखाना बन्द गर्ने योजना बनाएको छ । चीनको जन्मदरमा तीव्र कमी आइरहेको भन्दै कम्पनीले यस्तो निर्णय गरेको हो । चीनको जनसङ्ख्या संकटले पार्न सक्ने दूरगामी असरको यो एउटा नमुना मात्रै हो ।


आयरल्यान्डको आस्केटनमा रहेको धुलो दूध बनाउने कारखाना बन्द गरिने कम्पनीले बुधबार बताएको हो । सो कारखाना बेच्न अहिले कम्पनीले क्रेता खोजिरहेको छ । क्रेता भेटिएन भने चाहिँ सन् २०२६ को पहिलो त्रैमासमा कारखाना ठप्पै पारिनेछ । सो कारखानाले विशेषगरी एसियाली बजारका लागि धुलो दुध उत्पादन गर्दै आएको छ । चीनको जनसङ्ख्यामा आएको कमीले पश्चिमी देशहरूलाई कसरी प्रभावित पार्ला भन्नेतर्फ यो नयाँ अन्तरदृष्टि हो ।

वृद्ध जनसङ्ख्यामा भइरहेको वृद्धिले यस अघि नै चीनको अर्थतन्त्रमा दबाब सृजना गर्न थालिसकेको छ । खुम्चिँदै गइरहेको जनशक्ति दीर्घकालमा आर्थिक र सामाजिक स्थिरतामा खतरा उत्पन्न गराउने हो कि भन्ने चिन्ताले यतिबेला नीति निर्माताहरुलाई सताउन थालेको छ । सन् २०१६ मा चीनमा १ करोड ८० लाख शिशु जन्मिएकोमा यो वर्ष यो सङ्ख्या घटेर ९० लाखमा झर्ने अनुमान गरिएको नेस्लेले एक विज्ञप्तिमा भनेको छ । शिशुका लागि धुलो दुधमा चीन विदेशी बजारमा निर्भर रहँदै आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!