हङकङले १६ रनले हरायो कुवेतलाई

Posted on: 30 Oct, 2023

कात्तिक १३, काठमाडौँ | टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न चौथो खेलमा हङ्कङले कुवेतलाई १६ रनले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । जारी छनोट प्रतियोगितामा समूह ‘बी’ को यो दोस्रो खेल हो । यसअघि सोमबार नै खेलिएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइनलाई पाँच विकेटले हराएको थियो ।

समूह ‘बी’ दुई अंकसहित हङ्कङ पहिलो र समान अंक जोडेको यूएई दोस्रो स्थानमा छन् । नेट रन रेटमा यूएईभन्दा हङकङ अगाडि छ । हङ्कङको जितमा ब्याटिङतर्फ ओपनर मार्टिन कोएट्जीले ८१ रनको योगदान गरे । उनले केवल ४८ बलमा एक छक्का र १४ चौका पनि हिर्काए ।

ओपनिङ विकेटका लागि मार्टिन र कप्तान निजाकत खानले एक सय एक रनको साझेदारी गरे । निजाकत खानले पनि २४ बलमा दुई चौकाको मद्दतले २५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातले पनि टोलीको खातामा ३१ रन थपे । उनले २७ बलमा दुई छक्का र एक चौका हिर्काएका थिए ।

कुवेतका बलर सैयद मोनिबले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको कुवेतका लागि कप्तान मोहम्मद असलमले ५२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३९ बलमा एक छक्का र ६ चौका पनि हिर्काएका थिए ।

विकेट किपर ब्याट्सम्यान उसमान पटेलले पनि २९ रन बनाएका थिए । उनले २४ बलमा एक छक्का र तीन चौका प्रहार गरे । बिलाल ताहिरले पनि ३६ रन बनाएका थिए । उनले केवल २६ बलमा तीन छक्का र एक चौका प्रहार गरे । 

हङ्कङका बलर इजाज खानले तीन विकेट लिएका थिए । एहसान खान र आयुष शुक्लाले पनि दुई—दुई विकेट हात पारेका थिए । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप खेल्न पाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!