इजरायलबाट छिटो लास ल्याइदिन पदम र राजनका परिवारको माग

Posted on: 30 Oct, 2023

कात्तिक १३, काठमाडौँ | प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका डोटीका दुई युवा विद्यार्थीहरुको शव सनाखत भएसँगै छिटो नेपाल ल्याइदिन परिवारजनले माग गरेका छन् ।

इजरायलस्थित नेपाली दूतावासले डोटी आदर्श गाउँपालिका- ५ का पदम थापा र शिखर नगरपालिका- ६ का राजन फुलाराको शव पहिचान भएको पुष्टि गरेको थियो । फुलारा र थापासँगै मारिएका अर्का नेपाली विद्यार्थी सल्यानका प्रकाश भण्डारीको पनि शव पहिचान भएको दूतावासले जनाएको छ ।


शव पहिचानका लागि सरकारले कात्तिक ६ गते मृतकका आमा बुवाको स्वाब संकलन गरी इजरायल पठाएको थियो । स्वाब १० गते इजरालय पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिएका थिए ।

शव पहिचानसँगै मृतकका आफन्तहरुले लास छिटो ल्याइदिन माग गरेका छन् । मृतक पदमका दाई दानबहादुरले भने, ‘सुरुमा त भाइको मृत्यु भयो भन्ने विश्वास नै लागेको थिएन, शव पहिचान नभएकाले झिनो आश थियो । अब सबै आश सकियो, लास छिटो ल्याइदिए हुन्थ्यो ।’

उनका अनुसार सुगर र प्रेसरले थलिएका बुवाले औषधिसमेत खान छोडेका छन् ।

राजनका आफन्तहरुले पनि लास छिटो ल्याइदिन आग्रह गरेका छन् । राजनका आफन्त टीका फुलारा भन्छन्, ‘आज २३ दिन भइसक्यो, लासको सतगत नगरेसम्म अरु कुनै संस्कार गर्न मिल्दैन ।’

राजनका बुवा घनश्याम एक्लै एक्लै बर्वराउने, घरबाट निस्किने गर्न थालेको टीका बताउँछन् ।

‘एक्लो छोरो थियो, मरिहाल्यो, अब कसका लागि बाँच्नु छ र भन्नुहुन्छ’, टिका भन्छन्, ‘घरबाट एक्लै निस्किनु हुन्छ, खोजेर सम्झाएर राख्नुपर्ने भएको छ ।’

राजनकी आमा लक्षिमादेवी पनि बिरामी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!