रुपेश सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

Posted on: 01 Nov, 2023

कार्तिक १५, बारा | कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । 

मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको हो । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । 

प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ । 

‘विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका चार जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले भने, ‘घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!