जुवाखालबाट पक्राउ परेका चक्र बमसहितका कलाकार धरौटीमा छुटे

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | जुवाखालबाट पक्राउ परेका चक्र बमसहितको कलाकार धरौटीमा रिहा भएका छन्। कात्तिक ११ गते राति पक्राउ परेका बमसहितका ९ कलाकार बुधबार धरौटीमा रिहा भएका हुन्। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। 

प्रहरी वृत्त सिंहदबारको टोलीले ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो। 


काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित रमेशनाथ पाण्डेको घरको दोस्रो तलामा भोजपुरको पात्लेपानी–२ घर भइ हाल मैतीदेवी बस्दै आएका गजित विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरुको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको थियो।

त्यतिबेला भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम पक्राउ परेका थिए। 

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ २८ वर्षीय टाइम मगर, बुढानिलकण्ठ–९ का  ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी पनि पक्राउ परेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!