रिगल अब कति समय बस्नुपर्छ जेल?

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

बिहीबार ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो । 

‘प्रत्यर्थीमध्येका रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा सुरूमा बाँके जिल्ला अदालत र उच्च जिल्ला अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट हुने ठहर गरिएको जन्मकैदको सजायमध्ये भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने (कम गर्ने/छोट्याउने) गरी भएका काम कारबाही, सम्माननीय राष्ट्रपतिबाट भएको निर्णय र सोसम्बन्धी पत्राचारहरू समेत उत्प्रेषणको आदेशले बदर,’ इजलासले जारी गरेको आदेशमा भनिएको छ। 

यस्तै, आदेशमा रिगललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये उनीबाट बाँकी सजाय असुल गर्न भनेको छ। 

रिगलले अब ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको देखिएको छ। 

‘रिगललाई तकाल पक्राउ गरी उल्लेख भएबमोजिम कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारागारमा राखेर कानुनबमोजिम असुल गर्नू भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ। 

रिगल सरकारको सिफारिसमा संविधान दिवसको दिन छुटेका थिए। सरकारले उनको कैद सजाय मिनाहा गरी छाड्ने निर्णय गरेको थियो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!