मुगु हत्याकाण्ड: अनुसन्धान गर्न प्रदेश प्रहरीले माग्यो सीआईबीको सहयोग

Posted on: 03 Nov, 2023

कार्तिक १७, मुगु | मुगुको छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटना अझै पत्ता लागेको छैन । कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका हुन् ।

हत्या अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग मागेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई केन्द्रीय अनुसन्धान ब्युरोको टिम पठाउन पत्राचार गरेको छ । त्यसअघि जिल्ला प्रहरी कार्यालय मुगुले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय मुगुका एकजना अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पठाउने तयारी गरेको छ ।

अहिले घटनाबारे ३ जना इन्स्पेक्टरहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान गरिरहेका छन् । मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् ।

छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

हत्यापछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको थाहा भएको छ । कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टिमले अनुसन्धान थालेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!