जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित राहतका पर्खाइमा

Posted on: 05 Nov, 2023

कार्तिक १९, सुर्खेत | जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । 

प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २५० भन्दा बढी घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका  भूकम्प पीडितले भने “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ । ”

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा  धेरै भौतिक क्षति पुर्याएको छ ।  बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको एकिन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।

परम्परागत घरमा क्षति धेरै 

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिए  । 

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताउछने । उनी भन्छन्, “यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।” तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ ।

भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै ।

खुला आकाशमा रात बिताउँदै 

भूकम्प पीडितले  खुला आकाश पालमुनि बसेर रात बिताएका छन् ।  घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ । बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ । जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताए । उनले भने, “एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।”  

उद्धारको काम करिब अन्तिम चरणमा

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताएका छन्। यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!