विद्यालयमै प्रअको मृत्यु घटना : हत्या गरेर झुण्ड्याएको भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Posted on: 06 Nov, 2023

कार्तिक २०, सिरहा | सिरहाको गोलबजारमा विद्यालयमै झुण्डिएको अवस्थामा मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहाको मिर्चैयामा बिहान ९ बजेदेखि साहका परिवार र स्थानीयवासीले घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरिरहेका छन् । उनीहरूको विरोधका कारण सयौं सवारीसाधन अलपत्र परेको छ ।

आइतबार बिहान प्रधानाध्यापक साह गोलबजार नगरपालिका-३ जमदहस्थित विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घटना हुनुअघि विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए । उनको दुवै खुट्टा भुइँमा छोएकोलगायत घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद मानिएको छ ।

घटना ढोकछोप गर्ने प्रयास भएको भन्दै परिवार आन्दोलित बनेका छन् । पति मीनाकुमारी साह राजमार्गमै सुतेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’ को चेतावनीसमेत दिएकी छन् ।

‘घरमा कुनै विवाद भएको थिएन’, उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति गठन भएदेखि सर (श्रीमान् )लाई बढी प्रेसर थियो । समितिले कुनै काम गर्न दिइरहेको थिएन ।’

व्यवस्थापन समितिको दबाबका कारण पति सरुवा हुन खोजेको भन्दै उनले भनिन्, ‘म महिला भएर कहाँ-कहाँ पुगेकी छु । तर, सरुवा भएन । त्यसपछि उहाँले सहायक बनाइदिन भनेपनि कसैले वास्ता गरेनन् ।’

मिर्चैया नगरपालिका-६ का वडाध्यक्ष प्रदीप महासेठले प्रधानाध्यापक साहको हत्या भएको दाबी गरे ।

आन्दोलनमा समेत सहभागी उनले भने, ‘जसरी पनि दोषी पत्ता लगाएर कारबाही गर्नुपर्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!