राजश्व हिनामिनामा पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 06 Nov, 2023

कार्तिक २०, काठमाडौँ | जग्गा किनबेचबाट उठेको राजस्व हिनामिना गरेको अभियोगमा पर्सा मालपोतका तत्कालीन ५ अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारद्वारा विशेष अदालतमा दायर मुद्दामा राजस्व हिनामिनामा संलग्न आरोप लागेका एक नायव सुब्बाको भने मृत्यु भइसकेकाले ४ छोराले मुद्दा खेप्नुपर्ने भएको छ ।

अख्तियारले तत्कालीन अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी तथा तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन नासु किरणप्रसाद उपाध्यायको भने मृत्यु भइसकेकोले अंशियार छोराहरू राजकिशोरप्रसाद, गौतमप्रसाद, पशुपतीप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । नासु र श्रीमतीको समेत मृत्यु भइसकेकाले बिगो रकम ५ करोड ५५ लाख १९ हजार ९७५ दामासाहीले असुल उपर गराउने प्रयोजनार्थ उनीहरूलाई विपक्षी बनाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका अनुसार उनीहरूले ७१/७२ रजिष्ट्रेसन फाँटका कर्मचारीसँगको मिलेमतोमा जग्गा किनबेचका क्रममा उठेको रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर बैंकमा जम्मा नगरी एउटै रजिष्ट्रेशन नम्बर राखेर लिखत पारित गरेका छन् ।

प्रतिवादीमध्ये सबैभन्दा बढी तत्कालीन अधिकृत हरिनारायणसँग २ करोड ९ लाख ३१ हजार ६४७ रूपैयाँ बिगो मागिएको छ छ । त्यस्तै भुपबहादुरबाट एक करोड ४९ लाख ६९ हजार १४५ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

अन्यबाट पनि उनीहरूको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलित भई जम्मा नगरिएको राजस्व रकमबराबरको बिगो मागिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!