डेढ वर्षदेखि कुवेत अस्पतालमा अलपत्र प्यूठानकी तुलसा जीसीको उद्धार

Posted on: 06 Nov, 2023

कार्तिक २०,  रूपन्देही । डेढ वर्षदेखि कुवेतको अस्पतालमा अलपत्र प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोटकी ४७ वर्षीया तुलसा जीसीको सरकारले उद्धार गर्ने भएको छ । वैदेशिक रोजगारीमा गएकी तुलसा बिरामी भएपछि कुवेतको आदान अस्पतालमा पैसा तिर्न नसकेर अलपत्र परेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएको बेला प्यूठानका युवा समाजसेवी प्रदीप जीसीसहितको टोलीले उद्धारका निम्ति निवेदन दिएपछि कुवेतमा अलपत्र तुलसालाई परराष्ट्र मन्त्रालयले टिकट उपलब्ध गराएर उद्धार गर्ने भएको हो ।

‘प्रधानमन्त्री कार्यालयका सञ्चार विज्ञ मनहरी तिमिल्सिनामार्फत प्रधानमन्त्रीलाई निवेदन दिएका थियौं, परराष्ट्र मन्त्रालयमार्फत उद्धारका लागि काम भएको छ’, उद्धारका लागि पहल गरेका प्रदीप जीसीले भने ।


उनका अनुसार प्रधानमन्त्री सचिवालय र पराराष्ट्र मन्त्रालयको समन्वयमा अलपत्र नेपाली चेलीलाई स्वदेश ल्याउन सकिने अवस्था आएको हो । परराष्ट्र मन्त्रालयबाट तुलसालाई नेपाल ल्याउने प्रबन्ध भएको भन्दै हवाई टिकट समेत प्राप्त भएको जीसीले बताए ।

‘कात्तिक २३ गते काठमाडौंमा भेट हुनेछ, पारिवारिक रेखदेख, हेरचाह र थप उपचार पश्चात् बिरामीको स्वास्थ्यमा धेरै सुधार आउनेछ’, प्रदीपले भने । डेढ वर्षदेखि कुवेतको अस्पतालमा छट्पटाएर बस्दा परिवारमा विचल्ली भएको थियो ।

घरको आर्थिक अवस्थाका कारण कुवेत गएकी तुलसा बिरामी भएपछि करिव २ महिनासम्म परिवारसँग सम्पर्क भएको थिएन। सामाजिक सञ्जालमा सम्पर्कविहीन भएको सूचना राखेपछि अस्पतालमा उपचाररत रहेको खबर आएको थियो ।

उनी भारत हुँदै कुवेत पुगेकी हुन् । आर्थिक अवस्था कमजोर रहेको र ५ लाख रुपैयाँ पनि जोहो गर्न नसक्दा अस्पतालमै रहेकी तुलसालाई नेपाल ल्याउने वातावरण बनाइदिएकोमा परिवारले खुशी व्यक्त गरेका छन् । तुलसाको २ छोरा, २ छोरी र श्रीमान छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!