गोरखाको स्तुल खोलामा बेलीब्रिज

Posted on: 07 Nov, 2023

कार्तिक २१, गोरखा | गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।

उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सवारीसाधान आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको काम एक वर्षभित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ ।

पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!