वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा पटक–पटक समस्या, मर्कामा सेवाग्राही

Posted on: 07 Nov, 2023

कार्तिक २१, काठमाडौँ |  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअतर्गत वैदेशिक रोजगार विभागको प्रणाली बलियो नहुँदा अनलाइनबाट प्रदान भइरहेका सेवामा समस्या आइरहेको पाइएको छ ।विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले प्रणालीमा समस्या आउने गरेको स्वीकारेको छ ।

वैदेशिक रोजगार विभागले अनलाइनबाट श्रम स्वीकृति लिने, मेडिकल रिपोर्ट लिने र ओरिएन्टेसनलगायत व्यवस्था मिलाएको छ । यसको कार्यान्वयन वैदेशिक रोजगार कार्यालयले गरिरहेको छ ।

यो प्रणालीमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति दिने काम रोकिएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले प्रणाली पुरानो भएकाले अहिले चाप बढ्दा समस्या आउने गरेको बताए ।


“२०६४/०६५ सालतिर बनाएको प्रणाली हो । अहिले विदेशिनेको संख्या बढ्यो, सेवाग्राही बढे । प्रणालीमा चाप बढेका कारण समस्या आउने गरेको छ,” विभागका महानिर्देशक दाहालले भने ।

उनले अब नयाँ सिस्टम बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । अहिले पनि काम ठप्पै नभएको तर कहिलेकाहीँ काम रोकिने समस्या आउने गरेको र समाधान भइरहेको उनले बताए ।

केही सेवाग्राहीले समयमै श्रम स्वीकृति नपाउँदा विदेशको टिकट नै रद्द गर्नुपर्ने स्थिति आएको गुनासो गरेका छन् ।

विभागले भने श्रम स्वीकृतिका लागि दैनिक तोकिएको कोटा पूरा भइरहेको बताउँदै टिकट नै रद्द गर्ने स्थिति आएको नहुन सक्ने बताएको छ ।

बरु श्रम स्वीकृति नलिई पहिले नै आफैँ टिकट काट्ने काम प्रक्रियागत नभएको विभागको एक अधिकारीको भनाइ छ ।

वैदेशिक रोजगार कार्यालयका निर्देशक एवं सूचना अधिकारी मेघनाथ अधिकारीले पनि सिस्टममा समस्या आउने गरेको स्वीकारेका छन् । बेलाबेला विभागले सिस्टम सम्भार गर्ने र अपडेट गर्ने काम गर्ने गरेको उनको भनाइ छ ।

सफ्टवेयरको सबै ह्यान्डलिङ विभागले गर्ने र कार्यालयले कार्यान्वयन मात्रै गर्ने उनले बताए । उनले पनि विदेश जानेले श्रम स्विकृति नपाएर वा सिस्टमको समस्याका कारण टिकट नै रद्द गर्नुपर्ने स्थिति नआएको हुन सक्ने बताए ।

रोजगार कार्यालयका निर्देशक अधिकारीले भने, “टिकट क्यान्लिस गर्‍यौँ भन्ने विषयमा एउटा सिस्टम ‘स्लो’ त हो । अर्काेतिर दैनिक वितरण हुने एक हजार ४५० टोकन व्यक्तिगत शाखाबाट प्रत्येक पूरा हुने गरेको छ । हाम्रो जति वटा कोटा छ, त्यो पूरा भएको छ । सिस्टम स्लो भएको हुनाले अलि ढिलाइ भएको हो । कोटा प्रतिदिन १,४५० हो, त्यो पूरा हुने गरेको छ ।”

केही दिनअघि विभागको प्रणालीमा समस्या आएर पूर्णरूपमा बन्द नै भएको र अहिले भने समस्या समाधान भइसकेको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!