काग तिहारमा रत्नपार्कमा गरियो २० औँ 'काग सम्मेलन'

Posted on: 11 Nov, 2023

कार्तिक २५, काठमाडौँ | काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । 

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । 

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । 

काग तिहारमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्ष कागहरू धेरै नआएको बताए ।

दुलालले भने, ‘ अहिले काग लोप हुँदै गइरहेको छ, त्यस कारणले पनि सोचेको जति सङ्ख्यामा आएनन् । २० औँ काग सम्मेलन राम्रै रह्यो । काठमाडौँमा गरेको १३ वर्ष भयो । कागसँग घनिष्ठ सम्बन्ध छ ।’

कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ सङ्केत दिँदाको स्वर र अशुभ सङ्केत दिँदाको स्वर निकालेर सुनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!