विश्वकपमा रोहित शर्माले बनाए थप कीर्तिमान

Posted on: 12 Nov, 2023

कार्तिक २६, काठमाडौँ | भारतीय कप्तान रोहित शर्मा विश्वकपमा उत्कृष्ट लयमा छन् । उनले आइतवार बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा नेदरल्यान्ड्सविरुद्ध ६१ रनको इनिङ खेले। हिटम्यानले आफ्नो ५४ बलको पारीमा आठ चौका र दुई छक्का प्रहार गरे। यस अवधिमा रोहितले प्रतियोगितामा ५०० रन पनि पुरा गरेका छन् । उनले यो आंकडा छोएर इतिहास रचे। उनी लगातार दुई विश्वकपमा ५०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान बने । रोहितले २०१९ विश्वकपमा ६४८ रन बनाएका थिए ।


रोहित शर्मा दुई फरक विश्वकपमा ५०० भन्दा बढी रन बनाउने दोस्रो खेलाडी पनि बने । यो मामिलामा उनले सचिन तेन्दुलकरको बराबरी गरेका छन् । तेन्दुलकरले सन् १९९६ र २००३ मा ५०० भन्दा बढी रन बनाएका थिए । सन् १९९६ को विश्वकपमा सचिनले सात खेलमा ५२३ रन बनाएका थिए । सन् २००३ को विश्वकपमा उनले ११ खेलमा ६७३ रन बनाएका थिए ।

रोहित शर्माले यस विश्वकपमा कप्तानको रुपमा ५०३ रन बनाएका थिए । उनी एक विश्वकपमा कप्तानको रूपमा सबैभन्दा बढी रन बनाउने भारतीय खेलाडी बनेका छन्। यस मामिलामा रोहितले पूर्व कप्तान सौरभ गांगुलीको कीर्तिमान तोडे । गांगुलीले २००३ को विश्वकपमा ४६५ रन बनाएका थिए ।

रोहित शर्मा विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने कप्तान बनेका छन् । उनले नेदरल्याण्डविरुद्धको खेलमा पहिलो छक्का प्रहार गर्दै यो उपलब्धि हासिल गरेका हुन् । रोहितले यो विश्वकपमा कुल २४ छक्का प्रहार गरेका छन् । उनले एक संस्करणमा कप्तानको रूपमा सबैभन्दा बढी छक्का प्रहार गर्नेमा इङ्ल्यान्डका इयोन मोर्गनलाई पछि पारेका छन्। मोर्गनले २०१९ मा २२ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले सन् २०१५ मा २१ छक्का प्रहार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!