चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क ?

Posted on: 13 Nov, 2023

कार्तिक २७, काठमाडौँ | आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि शुरु गरिएको चन्द्रागिरि—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु भएसँगै पर्यटकहरू पनि साहसिक पर्यटनमा आकर्षित भएका हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । चन्द्रागिरि—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ ।


दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउनुहुन्छ प्रशिक्षक पाइलट सुनुवार । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ ।

रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ । उनले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताए । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको उनको भनाई छ ।

उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनको भनाइ छ । उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि उनले बताए ।

शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमा आउनेलाई ८ हजार रुपैयाँ लाग्ने उनले बताए ।

त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकिएको छ । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ ।

यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!