टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा

Posted on: 13 Nov, 2023

कार्तिक २७, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।

सरकारले सोमबार टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै सत्तारुढ दलका महामन्त्री थापाले यस्तो प्रतिक्रिया जनाएका हुन्। सरकारले अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्ने नियतले टिकटक बन्द गरेको थापाको विश्लेषण छ। सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।’

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन भने आवश्यक रहेको उनको निश्कर्ष छ। ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।

यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो’ थापाले भनेका छन्, ‘यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!