धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

Posted on: 18 Nov, 2023

मङ्सिर २, कैलाली | धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी केहीबेरअघि पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगो निभाउन धनगढी उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

आगोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!