महिला टी- २० क्रिकेट शृंखला : मारिकोको उत्कृष्ट बलिङसँगै हङकङ च्याम्पियन

Posted on: 19 Nov, 2023

मङ्सिर ३, काठमाडौँ | चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको उपाधि आयोजक हङ्कङले जितेको छ । हङ्कङले आाइतबार खेलिएको फाइनल खेलमा तान्जनियालाई पाँच विकेटले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको तान्जनियाले १८.४ ओभरमै अलआउट हुनुअघि ८४ रनमात्र बनाउन सकेको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले १९.१ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । हङ्कङको जितमा ओपनर नतासा माइल्सले २७ रनको योगदान गरिन् । उनले ४१ बलमा दुई चौका पनि प्रहार गरिन् । 


तेस्रो नम्बरका क्रिज समाल्न आएकी सान्जिन सहजादले पनि टोलीका लागि १६ रनको योगदान गरेकी थिइन् । उनले २१ बलमा दुई चौका प्रहार गरिन् । कप्तान केरी चानले ६ रन जोडिन् । मारयम बिवीले अविजित १७ रनको योगदान गरिन् । उनले १९ बलमा एक चौका हिर्काइन् । एलिसा हुबर्ड ६ रनमा अविजित रहिन् । हङ्कङले अतिरिक्त रुपमा ६ रन पाएको थियो । तान्जनियाकी बलर आइसा मोहमदले दुई विकेट लिइन् । 

त्यसअघि तान्जनियाका लागि मोनिका पास्कलले ४२ रन बनाएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समल्न आएकी उनले ४९ बलमा ६ चौका पनि हिर्काएकी थिइन् । हुद्दा ओमारीले पनि टोलीको खातामा १३ रन थपेकी थिइन् । पेरिस कामुन्याले १० रन बनाइन् । 

तान्जनियाका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । हङ्कङकी बलर मारिको हिल एक्लैले पाँच विकेट लिएकी थिइन् । उनले १.४ ओभरमा केवल दुई रन खर्चिएकी थिइन् । इकरा साहरले पनि तीन विकेट हात पारिन् । एलिसन सिउले पनि एक विकेट लिएकी थिइन् । तान्जनियाकी एक खेलाडी भने रनआउट भएकी थिइन् ।

उक्त शृंखलामा नेपाल तेस्रो भएको थियो । तेस्रो स्थानका लागि आइतबार नै खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको थियो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७० रनमात्र बनाउन सकेको थियो । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । लिग चरणको तेस्रो खेलमा भने नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!