उत्तराखण्डमा नौ दिनदेखि सुरुङभित्र फसेका कामदार भिडियोमा देखिए, खाना पठाइयो

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ | भारतको उत्तराखण्डमा नौ दिनदेखि एउटा सुरुङमा फसेका ४१ कामदार पहिलोपटक भिडियोमा देखिएका छन् । सुरुङमा ‘ड्रिल’ गरिएको नयाँ पाइपबाट एन्डोस्कोपिक क्यामेरा प्रयोग गरेर सोमबार उक्त भिडियो खिचिएको हो ।

ती कामदार सुरुङभित्र फसेयता उद्धारकर्ताले पाइपबाटै पहिलोपटक तातो ताजा खाना पठाएका छन् । उनीहरूले यसअघि साँघुरो पाइपबाट पठाइएको खाजा खाइरहेका थिए ।

उत्तरकाशी जिल्लामा निर्माणाधीन सुरुङमार्गमा नोभेम्बर १२ मा पहिरो खसेपछि उनीहरू त्यहाँ अड्किएका हुन् । सोमबार साँझ उद्धारकर्ता सुरुङभित्र ६ इन्च खुकुलो पाइप धकेल्न सफल भएका थिए ।

अब सुरुङभित्र कामदारलाई अक्सिजन, खाना, औषधि, मोबाइल फोन र चार्जरलगायत सामग्री पठाउन सजिलो हुने बताइएको छ ।

मंगलबार उद्धारकार्य दशौँ दिनमा पुगेको छ । उद्धारकर्ताले ९०० मिलिमिटरको पाइप छिर्न सक्ने चौडाइ बनाएर उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

अतिरिक्त उद्धारमार्गका रूपमा थप दुई सुरुङ खन्ने प्रयास पनि भइरहेको बताइएको छ । बीबीसीबाट ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!