सिमकोटमा ग्यासको मूल्य एक हजार रुपैयाँ घट्यो, अब प्रतिसिलिण्डर ५५ सय

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ | हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ। यसअघि ६ हजार ५ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य ५ हजार ५ सय रुपैयाँमा झरेको हो।

व्यवसायी खुम रावतका अनुसार दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको र ग्यास व्यवसायीको संख्या पनि बढेपछि प्रतिस्पर्धा बढेसँगै मूल्य पनि घटेको हो।


यस्तै, पुरानो सिलिण्डर साटेर ग्यास भर्न भने ४ हजार ५ सय रुपैयाँ लाग्छ। यसअघि उक्त मूल्य ५ हजार ५ सय रुपैयाँ थियो। ग्यासको यो मूल्य सदरमुकाम सिमकोटको हो।

राष्ट्रिय सडक सञ्जाल जोडिएको सर्केगार्ड गाउँपालिकाको सरीसल्लामा भने नयाँ सिलिण्डर ५ हजार ५ सय रुपैयाँ पर्छ भने पुरानो सिलिण्डर भरेको २ हजार ५ सय रुपैयाँ पर्छ। सरीसल्लाभन्दा माथि भने पैदल दूरी हेरेर मूल्य निर्धारण गरिएको छ।

पहिलो पटक हुम्लामा ग्यास भित्रिँदा प्रतिसिलिण्डर चौध हजार रुपैयाँसम्म मूल्य थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!