दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार, मध्यरात ओछ्यानबाटै लखेटिए

Posted on: 22 Nov, 2023

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ ।

हिजो मध्यरात सो घटना भएको हो । इटहरीबाट आएका दुई दर्जन जति महिलाहरुलाई लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको थियो । राति ११ बजेतिर ८-१० जनाको एउटा समूह सो पार्टी प्यालेसमा घुसपैठ गरेर सुतिरहेका महिलाहरुलाई उठाएको थियो । भिडिओमा धेरै महिलाहरु प्रौढ उमेरका देखिन्छन् ।

‘हेल्लो दिदीहरु, ७ गतेको कार्यक्रममा आउनुभएको हो ?’ भिडिओमा बोल्दै एकजना भन्छन् ।


महिलाहरु हतारिएर लुगा लगाउन थाल्छन् । तर, उनीहरुलाई तुरुन्तै निस्किन आदेश दिइन्छ । एक महिलाले ‘लुगा लगाउन दिनु न हामीलाई’ भनेको सुनिन्छ ।

‘तपाईंहरु ७ गतेको आन्दोलनमा आउनुभएको रहेछ, उठिहाल्छु त, छिटो गर्नु,’ ती व्यक्तिले आदेश दिन्छन् ।

पछाडि अरु व्यक्तिले लुगा लगाउन दिउँ भनेको पनि सुनिन्छ ।

दुर्व्यवहारपछि महिलाहरु आफ्ना पोका पन्तरासहित मध्यरातमा बाहिर निस्किएका थिए । उनीहरुलाई लखेटेपछि ‘दुर्गे प्रसाईं पागललाई फोन गर्नु त युवा संघले लघार्यो भनेर ।’ भन्दै बोलेको सुनिन्छ ।

सो घटनाबारे प्रहरीको १०० नम्बरमा फोन गएको थियो ।

भक्तपुर प्रहरीले फोन आएपछि घटनास्थलतर्फ तत्काल टोली पठाइएको गएको बताएको छ ।

‘हामी जाँदा त्यहाँ महिलाहरु थिए, तर दुर्व्यवहार गर्नेहरु थिएनन्,’ भक्तपुर प्रहरी प्रवक्ता वसन्त पाठकले भने । उनले लखेटिएका महिलाहरुलाई फेरि त्यही सुत्ने व्यवस्था मिलाएको दावी गरे ।

दुर्गा प्रसाईं निकटस्थहरुले भने महिलाहरुलाई मध्यरात लखेटेर सडकमा ल्याइएपछि आफूहरुले उद्धार गरेको बताए ।

दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंका अनुसार महिलाहरु लखेटिएको सूचना आएपछि तत्कालै गाडी पठाएर उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई पशुपति धर्मशालामा लगेर राखिएको उनले जानकारी दिए ।

घटनामा संलग्नहरुलाई कारबाही गर्न उनको माग छ । प्रहरी प्रवक्ता पाठकले घटनामा ७-८ जना संलग्न रहेको जानकारी आए पनि उनीहरुको पहिचान नभएको बताए ।

‘युवा संघका कार्यकर्ता भएको सुनिएको छ, तर पहिचान भएको छैन । अहिलेसम्म कसैलाई पक्राउ पनि गरिएको छैन,’ पाठकले भने ।

युवा संघ अध्यक्ष क्षितिज थेवेले घटनामा संगठनको संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले भने, ‘युवा संघले संस्थागत रूपमा त्यस्तो अमानवीय काम गर्दैन र गर्ने निर्देशन पनि छैन । कतै कसैले व्यक्तिगतरुपमा गरेको हो वा स्थानीयले गरेका हुन् यसबारे पनि हामीले बुझ्न खोजिरहेका छौँ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!