जनविद्रोहलाई दबाउन सरकारकाे पनि समर्थन देखियो : दुर्गा प्रसाईं

Posted on: 22 Nov, 2023

मङ्सिर ६, काठमाडौँ | गणतन्त्र विरोध अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाईंले आफ्ना पीडा र वेदनाहरू सुनाउने तथा सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौँ आउँदै गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूसमेत भइरहेको आरोप लगाएका छन् ।

प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नेतृत्वमा विभिन्न राष्ट्रवादी राननैतीक पार्टी, विभिन्न धार्मिक, पेशागत तथा सामाजिक संघ संस्था र नागरिक समाजका साथै आम राष्ट्रप्रेमी नागरिकहरुको स्वःस्फूर्त सहभागीतामा विद्यमान शासन व्यवस्था, भ्रष्टाचार, तस्करी र माफीयातन्त्रका विरुद्ध संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तवरले भेला हुन आएका दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, केही आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्त्वहरूलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा विस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी धम्क्याउँदै आक्रमण गरेर रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको त यहाँहरू सबैलाई सर्वविदितै छ ।

एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सक्ने आरोप छ ।

हाल भइरहेका आक्रमण र अमानवीय कार्यका साथै भोलिदेखि हुने हरेक घटनाहरूको प्रत्यक्ष अनुगमन र निगरानी गरी विश्व जगतलाई सत्यतथ्य जानकारी गराइदिनुहुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग, नेपालस्थित वैदेशिक कूटनीतिक नियोग, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आह्वान गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!