त्रिभुवन विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ राखिंदै

Posted on: 22 Nov, 2023

मङ्सिर ६, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः ‘ड्यूटी फ्री सप’ (करमुक्त पसल) राखिने भएको छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

कार्यालयका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तला र आगमनतर्फ अध्यागमन नजिकै कार्यालयमा कुल १०१.९ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन गरिने भएको छ ।

यो स्थानमा खुला प्रतिस्पर्धाको माध्यमबाट ठेक्का बन्दोबस्द गरी बोलपत्र आह्वान गरिएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट करमुक्त पसल सञ्चालन र बण्डेड वेयर हाउसको इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति/फर्म तथा संस्था र कम्पनीले बोलपत्र फारम भर्न सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार करमुक्त पसल सञ्चालनका लागि प्रस्थानतर्फ साविकमा नेशनल ट्रेडिङले भाडामा लिएको र आगमनतर्फको क्षेत्रको न्यूनतम बहाल ५ वर्षका लागि १५ करोड १५ लाख २१ हजार २५७ रुपैयाँ तोकिएको छ ।

दोस्रो वर्षदेखि बहाल रकममा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा भाडा स्वतः वृद्धि हुने समेत सर्त राखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र मातहतका कार्यालयलाई बुझाउनु पर्ने बाँकी बक्यौता रहेका कम्पनी तथा फर्म र व्यक्तिले बोलपत्रमा भाग नपाउने गरी सर्त तोकिएको छ ।

काठमाडौं विमानस्थलमा डेढ दशक अगाडि करमुक्त पसल राखिएको भएपनि पछिल्लो समय हटाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!