भारतमा सडक सुरुङमा फसेका कामदारहरूको उद्धार कार्य जारी

Posted on: 23 Nov, 2023

मङ्सिर ७, भारत | भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना  कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ ।  घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको समयमा आपत्कालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हिमाली राज्य उत्तराखण्डको सुरुङबाट उनीहरूलाई चाँडै मुक्त गरिने आशा अधिकारीहरूले गरेका छन् । 

नोभेम्बर २२ मा निर्माणाधीन सुरुङको एक भाग खसेपछि इन्जिनियरहरूले करिब ५७ मिटर माटो, कङ्क्रिट तथा भग्नावशेषबाट स्टिलको पाइप खन्ने काम गरिरहेका छन् । कयौँ दिनको दर्दनाक सुस्त प्रगतिपछि शक्तिशाली ड्रिलिङ मेसिनका साथ इन्जिनियरहरू बुधबार दु्रत गतिमा अगाडि बढेका छन् । यद्यपि धातुका रडहरूका कारण मार्ग अवरुद्ध हुँदा केबल १२ मिटर अगाडि बढ्ने काम सुस्त भएको छ । 


इन्जिनियरहरूले रड काट्नका लागि पाइपभित्र पस्ने र सो समयमा शक्तिशाली ड्रिलिङ गरिने मध्यरातमा उद्धार टोलीका वरिष्ठ सदस्य हरपाल सिंहले बताए । चिन्तित आफन्तहरू हिन्दू मन्दिर बनाइएको स्थलमा जम्मा भएका छन् । एक पुजारीले सुरुङभित्र फसेका कामदारहरूको सुरक्षित उद्धारका लागि प्रार्थना गरिरहेका छन् । 

“जुन दिन उनीहरू सुरुङबाट बाहिर आउँछन् त्यो दिन हाम्रा लागि सबैभन्दा खुशीको दिन हुनेछ”, ३५ वर्षीय चञ्चल सिंह विष्टले भने । सुरुङभित्र उनका २४ वर्षीय भाइ पुष्करसिंह आर्य फसेका छन् ।  उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बुधबार साँझ दुर्घटनास्थलमा पुगेर काम युद्धस्तरमा भएको बताए ।

भग्नावशेष खस्नुका साथै महत्त्वपूर्ण भारी मेसिन बारम्बार बिग्रिएर उद्धार कार्यमा अवरोध भएको छ । 

मङ्गलबार पहिलो पटक कामदारहरूलाई जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको छ । 

उक्त सुरुङ मार्ग प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्तल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।   यद्यपि विज्ञहरूले ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै उत्तराखण्डमा व्यापक निर्माणको प्रभावको बारेमा चेतावनी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!