वन मन्त्रालयका उपसचिव शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका उपसचिव पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । चितवनको खैरहनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उनलाई त्यहाँ रहँदा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शर्मा हाल वन तथा वातावरण मन्त्रालयमा प्रशासन महाशाखा अन्तरगत रहेको शासकीय सुधार शाखा प्रमुखको जिम्मेवारीमा छन् । करिब तीन महिना अघि खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा भएर आएका थिए ।

अख्तियारले मुद्दा दायर गरेकामा उपसचिव शर्मासहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोइराला र सव-इन्जिनियर सुमन श्रेष्ठ, कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ छन् ।

त्यस्तै, कोषाध्यक्ष शम्भु जिसी, वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्तौला, बुढीराप्ति उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरिया र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कुमार दाहाल र सचिव कल्याण लटौला छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ७८ हजार रूपैयाँदेखि एक करोड १९ लाख पाँच हजार ६०३ रूपैयाँसम्म बिगो दाबी गरिएको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!