केपी ओली कप क्रिकेट : सशस्त्र प्रहरी बलमाथि गण्डकी प्रदेशको रोमाञ्चक जित

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको दोस्रो खेलमा गण्डकी प्रदेशको टोलीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि चार विकेटको रोमाञ्चक जित हासिल गरेको छ । दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् । 

समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १८.४ ओभरमा अलआउट हुनुअघि एक सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले १९.४ ओभरमा ६ विकेट गुमाएर एक सय चार रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । 

गण्डकी प्रदेशका लागि मुस्कान थापा २५ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान मुस्कानले २३ बलको सामना गरी चार चौका हिर्काएका थिए । चौथो नम्बरका ब्याट्सम्यान दिनेश बुढामगरले पनि टोलीका लागि २४ रनको योगदान गरे । 


दिनेशले ३३ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे । गण्डकीले टोलीको कुल स्कोर २६ रन हुँदा आफ्ना ओपनर किरण पौडेललाई गुमाएको थियो । उनी १५ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । अर्का ओपनर गौरव वीक पनि ११ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेट गुमाउँदा गण्डकीले ४.२ ओभरमा २६ रन बनाएको थियो । त्यसपछि मुस्कान र दिनेशले टोलीका लागि जितको आधार तयार पारेका थिए । 

गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्रीले पनि आठ रन जोडे । अविषेक थापाले अविजित ११ रनको योगदान गरे । उनले १५ बलमा एक छक्का पनि प्रहार गरे । अमृत गुरुङले एक बलमा अवजित ६ रन बनाए । उनले छक्का प्रहार गर्दै टोलीलाई विजयलक्ष्य पार गराएका थिए । 

गण्डकी प्रदेशको टोलीले अतिरिक्त रुपमा १२ रन पाएको थियो । एपीएफ क्लबका बलर अविनाष बोहराले दुई विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए । इर्साद अहमद, अमर रौतेला र अरुण ऐरीले पनि एक—एक विकेट हात पारे । 

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफ क्लबका लागि ओपनर ब्याट्सम्यान प्रदिप ऐरीले सर्वाधिक २० रन बनाएका थिए । टोलीका कप्तानसमेत रहेका प्रदिपले २३ बमा एक छक्का र दुई चौका पनि प्रहार गरेका थिए । 

अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । उनले ११ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए । लोकेश बम १३ बलमा १२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । भुवन कार्कीले टोलीको खातामा १४ रन थपे ।  छैटौँ नम्बरका ब्याट्सम्यान सुमित महर्जनले पनि १७ बलमा एक चौकाको मद्दतले १४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बनाउन सकेनन् । एपीएफले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । 

पोखरा रंगशालामा खेलिएको उक्त खेलमा गण्डकी प्रदेशका बलरहरु विपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले दुई—दुई विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले पनि एक—एक विकेट हात पारे । 

प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल समूह ‘ए’ मा रहेका कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमीको रातो टोलीबिच हुनेछ । उक्त समूहबाट बागमती प्रदेश लगातार दुई जित हात पार्दै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । शनिबारको दोस्रो खेल समूह ‘बी’ मा रहेका एपीएफ क्लब र लुम्बिनी प्रदेशको टोलीबिच खेलिने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!