सल्यानमा बस भित्तामा ठोक्किँदा ६ जना घाइते

Posted on: 24 Nov, 2023

मङ्सिर ८, सल्यान  | सल्यानमा गुडिरहेको बस भित्तामा ठोक्किएर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । दाङको तुलसीपुरदेखि सल्यानको दार्मा जाँदै गरेको ना ३ ख ३९९६ नम्बरको बस राप्ती राजमार्गअन्तर्गत शारदा नगरपालिका-६ भट्टाचौर नजिकै शुक्रबार दिउँसो ३ बजेतिर भित्तामा ठोक्किएको हो ।

दुर्घटना हुँदा बसमा सवार कुमाख गाउँपालिकाका २७ वर्षीय सहचालक लालबहादुर घर्ती, दाङको बबई गाउँपालिकाका ३८ वर्षीय कुशलबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका-७ की ५५ वर्षीया सावित्रा ओली, राप्ती सोनारी गाउँपालिका बाँकेकी ५३ वर्षीया डिला खड्का, बाग्चौर नगरपालिका २ की ७८ वर्षीया झुपा केसी र १० वर्षीय सुशान्त केसी घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।

घाइते सबैको स्थानीय र प्रहरीले उद्धार गरेका थिए । सहचालक शाहीको अवस्था गम्भीर रहेको प्रनाउ कार्कीले जनाए । उनका अनुसार घाइते सबैको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

राप्ती राजमार्ग कालोपत्रे गर्नका लागि तारकोल (अलकत्रा) बिछ्याइएको र त्यसमै चिप्लिएर बस भित्तामा ठोक्किन पुगेको प्रनाउ कार्कीले जानकारी गराए । उनका अनुसार बसमा २५ जना यात्रु सवार थिए ।

चालक छत्रेश्वरी गाउँपालिका-६ भोटेचौर घर भएका ४४ वर्षीय तीलक विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!