आज पनि तीनकुनेमा प्रदर्शन हुन नदिन प्रहरी परिचालन

Posted on: 25 Nov, 2023

मङ्सिर ९, काठमाडौँ | आज पनि तीनकुने क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। जसका कारण आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी रहेका छन्। 

बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो। दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आउन लागेकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथ पक्राउ गरेको थियो।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन दिइएको थिएन। उनको घर रहेको ठाउँमा दिनभर प्रहरीले निगरानी गरेको थियो। शुक्रबार तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नलिएको भन्दै राजावादी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आज पनि तीनकुनेमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन। आवातजावत गर्नेहरुमाथि प्रहरीले टाढैबाट निगरानी बढाएको छ।

कानुनको परिधिभित्र बसेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने भएपछि सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा भेला हुन र प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने प्रशासनको भनाई छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!