बर्दियामा मैनबत्तीबाट सल्केको आगोले तीन बालबालिकासहित चारको मृत्यु

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | बर्दियामा मैनबत्तीबाट सल्केको आगोबाट आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। शुक्रबार राति करिब साढे १० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा डेढ वर्षीय कार्तिक चन्द, सात वर्षीय कृष चन्द, नौ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको हो। राधा र मानसी आमाछोरी हुन् ।

आगोले जलेर करिश्मा चन्द घाइते भएकी छिन्। उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ। बर्दिया अस्पतालका जनरल सर्जन डा. विजय उपाध्यायका अनुसार घाइतेको शरीरको २६ प्रतिशत भाग जलेको छ। 

आगलागीमा परी मृत्यु भएका चारैजनाको शव जलेको अवस्थामा फेला परेको थियो । राधा बुढा छोरी लिएर माइत गएकी थिइन्। इँटा र टायलबाट बनेको घरको एक कोठा पूर्ण रूपमा नष्ट भएको छ । कोठाभित्र रहेका सम्पूर्ण सामान जलेर पूरै नष्ट भएका छन् । घरधनी भरत चन्द (घाइते करिश्माका श्रीमान्) भने कामविशेषले बाँकेको कोहलपुर गएका थिए । 

तीन दिनदेखि विद्युत् लाइन बिग्रिएकाले मैनबत्तीबाट आगो सल्किएको घाइते करिश्माले बताइन्। फ्रिजमाथि मैनबत्ती बालेर सुतेको र सँगै रहेका अन्य मैनबत्ती हुँदै कपडामा सल्किएर आगो लागेको हुन सक्ने घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। आगलागी हुँदासम्म घरमा सबै सुतिसकेको हुनाले चारजनाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ। ब

यस बिषयमा तपाइको प्रतिक्रिया...!