दुर्गा प्रसाईँको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिट फिर्ता

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | आफूलाई प्रशासनले घरमै बन्धक बनाएको भन्दै दुर्गा प्रसाईँको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिइएको छ ।

वारेसमार्फत रिट निवेदन दर्ता गराएका अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईँलाई प्रशासनले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले आफूहरुले रिट फिर्ता लिएको बताए ।

उक्त बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईका लागि आज सर्वोच्चका न्यायाधीश डा. कुमार चुँडालको इजलासमा परेको भएपछि निवेदकले नै रिट फिर्ता लिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष प्रसाईँले गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए । प्रदर्शनको तयारी गरेको भएपनि उक्त स्थानमा कार्यक्रम गर्नका लागि उनले सम्बन्धित निकायसँग अनुमति लिएका थिएनन् । प्रसाईँलाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै उक्त दिन प्रहरीले घरबाट बाहिर निस्कन दिएको थिएन ।

प्रसाईँलाई अघोषित बन्दी बनाएर नागरिकको आवाज दवाउने प्रयास गरेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । उक्त आलोचना पश्चात हिजो भने प्रसाईँले सिफलमा कार्यक्रम गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!