विराटनगरमा युवकको हत्या : केटी जिस्क्याएको निहुँ मा अघिल्लो दिन विवाद, भोलिपल्ट ‘ग्याङ फाइट’

Posted on: 09 Jul, 2024

असार २५, विराटनगर । विराटनगरमा दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा युवकको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजेतिर दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अनुसन्धानमा खटिएका एक प्रहरीलेले बताए । घटनामा घाइते भएका मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । गम्भीर अवस्थाका कामतको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । उनको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको चोट छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । 

घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न विराटनगर–११ घर भइ विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालक पक्राउ परेका छन् । डीएसपी बस्नेतका अनुसार ‘ग्याङ फाइट’का क्रममा घटनामा संलग्नमध्ये शेर्पाले मृतक र घाइतेलाई कैंचीले जथाभावी प्रहार गरेको यकिन भएको छ । 

उनका अनुसार दुई पक्षबीच आइतबार साँझ वारदातस्थलनजिक विवाद भएको पाइएको छ । केटीको विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ । मृतक र घाइते पक्षका युवाहरुले पीडक पक्षका केटीलाई जिस्क्याएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ । 

‘विवादपछि रिसईबी साँधेर बसेको मृतक र घाइते पक्षका १२-१३ जनाको समूहले भोलिपल्ट बाटो ढुकेर पीडक पक्षका युवाहरुलाई सुरुमा आक्रमण गरेको पाइयो । सोधपुछका क्रममा पीडक पक्षका युवाहरुले काम सकेर घुम्न निस्किएका बेला हामीमाथि सुरुमा आक्रमण भयो भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘आक्रमण हुन थालेपछि प्रतिकार गर्दा ज्यानै जानेसम्मको घटना भएको रहेछ । केटीको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति हुन पुगेको पाइयो ।’ ‘ग्याङ फाइट’का क्रममा दोहोरो हानाहान हुँदा पीडक पक्षका एक जनाले साथमा बोकेको कैंची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । 

घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको एक प्रहरीले बताए ।  उनका अनुसार घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । ‘घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ,’ उनले भने, ‘विभिन्न पाटोबाट विस्तृतमा अनुसन्धान भइरहेको छ ।’ बस्नेतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलका आधारमा घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उक्त मोबाइल घटनामा संलग्नमध्ये १ जनाको रहेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!