मंसिर २८, दार्चुला । दार्चुलाको धौलाकोट गाविसमा विभिन्न मितिमा प्रहरीचौकी धौलाकोटका प्रहरी सहायक निरीक्षक विशनदत्त भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । मसिंर १९ गते गाविसको वडा नम्बर ३ स्थित देवसिँह धामीको पसलबाट ७ लिटर, २० गते वडा नम्बर ३ कै बिस्ना धामीको घरबाट १३ लिटर, २५ गते वडा नम्बर २ का बहादुर विष्टको पसलबाट १० लिटर र २६ गते वडा नम्बर ७ का पुरनसिँह कुवँरको पसलबाट १० लिटर गरी जम्मा ४० लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी चौकी धौलाकोटले जनाएको छ । धौलाकोट गाविसलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिए पनि मदिराको बिक्रीवितरण भइरहेकोले स्थानियको गुनासोका आधारमा प्रहरीले मदिरा नियन्त्रण गरेको हो ।
अनुगमनका क्रममा प्रहरीले मदिरा नष्ट गरेको धौलाकोटका प्रहरी सहायक निरीक्षक विशनदत्त भट्टले जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि अबैध मदिराको कारोबार गर्नेलाई कार्वाही गरीने पनि प्रहरीले बताएको छ ।