पढ्न करिब 2 मिनेट लाग्छ

चैत १५, म्याग्दी । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यस अघिनै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको मात्र हो भन्दै सडक डिभिजन कार्यालय वाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर उक्त सडकखण्डमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमत्ताको मापदण्ड लागू गराउन दबाब दिँदै आएका थिए ।

अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखण्डमा २६ जनासम्म सिट क्षमत्ता भएका गाडीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

यो मापदण्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमत्ता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री अहिले समस्यामा परेका छन् ।

यसअघि अस्थायी रुट अनुमति लिएर आएका सबै प्रकृतिका गाडीलाई सहज रुपमा उक्त सडकखण्ड भएर मुस्ताङ जान आउन दिने गरिएको थियो । शैक्षिक भ्रमणका क्रममा काठमाडौँबाट मुस्ताङ जान आएका राममणि शर्माले उक्त मापदण्डका कारण आफूले ल्याएको गाडी त्यही रोकेर स्थानीय व्यवसायीको गाडी प्रयोग गर्न बाध्य भएको गुनासो गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख परशुराम जोशीले मुस्ताङबाट बेनी जोमसोम सडकमा २६ सिट भन्दा बढी क्षमत्ताका गाडी सञ्चालन गर्न नदिने निर्देशन आएको बताउनुभयो । पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटक र तीर्थयात्रीको चाप बढे पनि यातायात सेवा असहज हुँदा यात्रुले दुःख पाएका छन् ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले प्रशासनको निर्देशन अनुसार आफूहरुले २६ भन्दा बढी सिट क्षमत्ता भएका गाडी नचलाएको र बाहिरबाट आएका गाडीलाई पनि मापदण्ड लागू गराउनुपर्ने बताउनुभयो । जोमसोमदेखि बेनी, पोखरा, काठमाडौँ छुट्ने लामो दुरीका सवारी साधनले समेत यही मापदण्ड पालना गरेको उहाँको भनाइ छ । रासस