जिल्लाभरका निर्वाचित प्रमुख जनप्रतिनिधिहरुलाई एकैथलोमा स्वागत

Posted on: 08 Jun, 2017

स्थानीयतहबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गर्ने बाढी नै आइरहेको छ । विभिन्न संघसंस्थाहरुले स्थानीय तवरमा स्वागत गरिराख्दा जनप्रतिनिधिहरुलाई काम गर्ने फुर्सद छैन । 

यही बेला पर्वतको स्थानीयतहबाट नवनिर्वाचित प्रमुख जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समितिले बुधवार एकैथलोमा स्वागत गरेको छ । जिल्ला समन्वय समिति पर्वतको सभाहलमा आयोजना भएको स्वागत कार्यक्रममा सातवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरुलाई एकैथलोमा सहभागी गराइएको छ । 

कार्यक्रममा स्वागत पछि जनप्रतिनिधिका प्रमुख तथा उपप्रमुखहरु र अध्यक्ष तथा उपाध्यक्षहरुले आफूलाई जनसेवकको रुपमा जनताको सेवा गर्ने भनाई राखे । कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, उपमेयर सीता कुमारी लामिछाने काफ्ले, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, उपमेयर मन्जु अधिकारी सहभागी थिए । त्यसैगरी पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङ, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हिरा राना, विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषाल, उपाध्यक्ष डम्वर कुमारी गुरुङ, जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्वुजा पुन, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत सहभागी थिए । जलजला गाउँपालिकाका अध्यक्ष यम मल्ल कार्यक्रममा सहभागी थिएनन् । 

वक्ता जनप्रतिनिधिहरुले जनताको अपेक्षाहरु धेरै भएको बताउँदै सोलाई पुरा गर्न इमान्दारिताका लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु सवैले आफ्नो भनाई राखेका थिए । यसरी भनाई राख्ने क्रममा केही निर्वाचित प्रतिनिधिहरुले प्रष्ट भनाई राख्न समेत सकेनन् भने केहीले समस्या र चुनौतीको सामना गरी अघि बढ्ने बताए । सहकार्य र साझा तवरबाट आर्थिक विकास गर्ने कुरामा सवै जनप्रतिनिधिको एकमत देखिन्थ्यो । आफ्नो भनाई राख्ने जनप्रतिनिधिहरुमध्ये फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले विकासको नीति र योजनाहरु विज्ञ मार्फत् निर्माण गरी अगाडि बढ्ने दावी गरे भने अरु वक्ताहरुले खासै नयाँ विषयवस्तुको उठान गर्न सकेनन् । पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले स्थानीयतहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले संचारमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । जिल्लामा संचारमाध्यमको सवलीकरण र प्रवद्र्धनमा विगतमा वास्केट फण्डको व्यवस्था भएको जानकारी गराउदै अवका दिनहरुमा पनि स्थानीय तहबाट मिडियाको व्यावसायिक हितमा  नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता रहेको उपाध्यक्ष गिरीको भनाई थियो । 

जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुषालको अध्यक्षतामा स्वागत कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्लाको विकास गतिविधिबारे जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख ई.लक्ष्मीप्रसाद भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाका राजनीतिक दलहरु नेकपा एमालेबाट विष्णुप्रसाद नेवार, नेकपा माओवादी केन्द्रका प्रतिनिधि शंकर गिरी, नयाँ शक्ति नेपाल महेन्द्र लामिछाने, गणतान्त्रिक देशभक्त मोर्चा तेजेन्द्र पौडेल, सरकारी विषयगत कार्यालयका प्रमुख लगायतको समेत सहभागीता थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!