नवलपरासीमा दुर्घटनामा परी १० घाइते

Posted on: 11 Jun, 2017

जेठ २८, नवलपरासी | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ । 

काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ । 

यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य 

यसैबीच, नवलपरासीको एकमात्र पहाडी सडकखण्ड दलदले–बलिङटार सडकखण्डमा यतिबेला यात्रु पूर्णरुपमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । 

बर्र्साको मौसम सुरु भएलगत्तै पहाडी क्षेत्रमा सडक बिग्रिन पुग्दा पहाडी साविक १७ वटा गाविसमा पुग्ने अधिकांश यात्रु जोखिम मोल्न बाध्य भएका हुन् । 

दलदले–बुलिङ्टार चल्ने सबै सवारी साधनमा यात्रुहरु छतमाथि बसेर यात्रा गर्न बाध्य छन् । विशेषगरी जोखिमपूर्ण पहाडी सडक अझ सवारी साधनको छतको यात्राका कारण यात्रु दोहोरो जोखिम उठाएर यात्रा गर्दै आएका हुन् । 

पहाडी डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका पहाडी गाविसमा जान यात्रु जोखिमको यात्रा गर्दै आएका छन् । 

यात्रुहरु सवारी साधनको छतमाथि बसेर यात्रा गर्न बाध्य भएपछि जोखिमपूर्ण सडकमा थप जोखिम बहन गरी यात्रा गर्न बाध्य भएका हुन् । सो सडकको दूरी करिब ४५ किलोमिटर रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!