बझाङका सम्पूर्ण मदिरा पसलमा सिलबन्दी, अवैध मदिरा नष्ट

Posted on: 16 Jun, 2017

सम्राट सिंह | असार २, बझाङ | स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई  मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बझाङमा रहेका सम्पूर्ण मदिरा पसलहरु सिलबन्दी गरेको छ  । बिहिबार बसेको सर्वदलीय बैठकले मदिराका कारण जिल्लामा घट्ने अपराधिक घटनाहरुलाई  न्यूनिकरण गर्न निर्वाचन अवधिभर मदिरा पूर्ण रुपमा बन्द गर्ने निर्णय पश्चात सदरमुकाम देखि गाउँगाउँका मदिरा पसल सिलबन्दी गरेको हो ।

स्थानीय तहको निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन अवधिभर मदिरा बन्द गर्ने जिल्लाका राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, महिला अधिकारकर्मी, पत्रकार लगायत सबै मदिरा बन्द गर्ने अभियान सहभागी भएका छन । जिल्लामा मदिराका कारण घट्ने घटनालाई मध्यनजर गर्दै आज चैनपुर बजारमा भएका रक्सी पसलहरुमा सिलबन्दी गरेको र गाउँ गाउँमा प्रहरी चौकीलाई मदिरा बन्द गर्न आदेश दिइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुँवरले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका सम्पूर्ण मदिरा पसलहरु असार १ गतेदेखि मतगणना गरी नसक्दा सम्म मदिरा पसलहरु बन्द गरिने सुचना प्रसारण गरको थियो । इजाजत प्राप्त मदिरालाई सिलबन्दी गर्दै स्थानिय मदिरालाई नष्ट गर्ने कार्यको सुरुवात भएको छ । 

जिल्लामा अनुमति  प्राप्त मदिरा पसलमा निर्वाचन अवधिभर सिलबन्दी गर्नुका साथै झण्डै ७ सय लिटर अवैध मदिरा नष्ट गरेको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथले बताए । निर्वाचन अवधिभर जिल्लामा मदिरा बन्द गर्नाले अपराधिक घटनामा कमी आउने उनको भनाइ छ । 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!