२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाघ र मानिसको द्वन्द्व घटाउने चुनौती

२०७४, १४ श्रावण शनिबार १२:२०


साउन १४, काठमाडौँ । स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण हुनुपर्नेमा द्विविधा छैन, तर सुरक्षित व्यवस्थापन नभएमा मानिसको ज्यानकै खतरा सँगसँगै उत्पन्न हुँदै आएको छ । 

सरकारी आँकडाअनुसार नेपालमा बाघको संख्या उल्लेख्य वृद्धि भई १९८ पुगेको छ भने वर्षमा बाघकै आक्रमणका कारण ३० देखि ३५ जनासम्मको मृत्यु हुने गरेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले दिनुभएको यो विवरणलाई आधार मान्दा बाघको संख्या वृद्धि भए पनि यसको उचित संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । 

पछिल्लो समय वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याका रुपमा आएको विज्ञहरु औँल्याउँछन् । महानिर्देशक आचार्यका अनुसार सन् २००९ मा १२१ रहेको बाघको संख्या सन् २०१३ मा आइपुग्दा ६३ प्रतिशतले वृद्धि भई १९८ पुगेको छ । सन् २०२२ सम्म यो संख्या दोब्बर पु¥याउने सरकारको लक्ष्य छ । 

“वन्यजन्तु राख्नसक्ने क्षमता कति हो, त्यसको अनुसन्धान गरी उचित नीति बनाएर संरक्षण र संख्यालाई वृद्धि गरिनुपर्छ, भइरहेका वन्यजन्तुलाई पर्यावरण तथा स्वस्थ्य आहारको सुनिश्चितता गरी जनावर र मानिसबीचको द्वन्द्व घटाउनेतर्फ आगामी कार्यक्रम केन्द्रित हुनुपर्छ”–उहाँले भन्नुभयो । 

एक बाघलाई सातामा झण्डै ५० किलोग्राम आहारा चाहिन्छ । आहार र बाघको बासस्थान संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने महानिर्देशक आचार्यको भनाइ छ । 

सातौँ विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नै प्राङ्गणमा आज आयोजना गरेको कार्यक्रमका विज्ञ वक्ताले बाघको संरक्षणसँगै व्यवस्थापन चुनौतीलाई कसरी सामना गर्ने भन्नेबारे विचार मन्थन गरेका थिए । 

‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित आज देशैभरका यो दिवस मनाइएको छ । बाघ पारिस्थितीय प्रणाली (इकोसिस्टम) को उच्च तहमा रहेको प्रजाति भएकाले यसको संरक्षण गर्न सकेमा अरु धेरै वन्यजन्तुको संरक्षण हुन्छ भन्ने मान्यताका साथ दिवस मनाइएको वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल बताउनुहुन्छ । 

उहाँका अनुसार बाघ मांसहारी र उच्च तहको प्रजाति भएकाले यसको मानिससँगको द्वन्द्व र बासस्थानमा आएको ह्रास र खण्डीकरणले गर्दा यो प्रजाति संकटमा परेको छ । सोही दृष्टान्तलाई मध्यनजर गर्दै सन् २०१० माघ पाइने १३ वटै राष्ट्रका प्रमुख जम्मा भएको (बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन) को प्रतिबद्धताअनुसार हरेक वर्ष जुलाई २९ का दिन यो दिवस मनाइँदै आएको छ । 

सहसचिव ढकालको भनाइमा बाघ संरक्षण गर्ने हो भने स्वस्थ्य ‘इकोसिस्टम’ चाहिन्छ, त्यसका लागि बाघ पाइने स्थानको पानीको स्रोत र घाँसे मैदानलाई व्यवस्थापन गरिनुपर्छ । 

बाघको ठूलो चुनौतीका रुपमा रहेको बाघ र मानिसबीचको द्वन्द्व घटाउने काम गरिनुपर्ने, बाघको छाला र हाडलाई अन्तर्राष्ट्रिय कालोबजारी गर्ने गिरोहलाई निस्तेज गरी त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याइनुपर्ने उहाँको भनाइ छ । साथै, बाघको निरन्तर अनुसन्धान र संरक्षण गर्दा स्थानीय समुदायलाई प्राथमिकतामा राखी बाघ संरक्षणको काम गर्नुपर्ने तथा बाघ पाइने देश तथा छिमेकी राष्ट्रबीचको सम्बन्ध मजबुद पारिनुपर्नेमा सहसचिव ढकालको जोड छ । 

नेपालमा तराई क्षेत्र बाघ पाइने क्षेत्र हो । निकुञ्ज क्षेत्र र आसपासका घना जंगलमा बाघ पाइन्छ भनिन्छ, तर कुन जिल्लामा कति बाघ पाइन्छ भन्ने यकिन विवरण नभएको बताइन्छ । 

सन् २०१३ को आधिकारिक गणनाअनुसार बाघको संख्या १९८ रहेको छ । अब सन् २०१८ र सन् २०२२ मा बाघ गणना गर्ने योजना छ । 

छिमेकी मुलुक भारतसहित विश्वका १३ देशमा बाघ पाइन्छ । सुरुमा नौ प्रजातिका बाघ पाइए पनि अहिले छ प्रजातिका मात्र बाघ पाइन्छन् । पाटे बाघ सबैभन्दा ठूलो हो । हाल विश्वभर बाघको संख्या पाँच हजारभन्दा बढी रहेको छ । भारतमा सबैभन्दा बढी बाघ पाइन्छ ।  

बाघको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोषले विश्व वन्यजन्तु संरक्षण कोषलगायत संस्थाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नेपालमा बाघको संरक्षणमा आगामी रणनीतिबारे सरोकार भएका निकायबीच छलफल भयो । 

कार्यक्रममा वन मन्त्रालयका सहसचिव ढकालले नेपालमा बाघको संरक्षण विषयमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुतीकरणमा वन विभागका महानिर्देशक आचार्य, त्रिभुवन विश्वविद्यालयका प्रा डा रमेश श्रेष्ठ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक श्याम बजिमय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुष्कर सिंहले टिप्पणी गर्नुभएको थियो । बाघको इकोलोजी तथा बासस्थान, अवैध चोरी शिकार तथा व्यापार नियन्त्रण, संरक्षणका नीति, संरक्षणमा स्थानीय समुदायको सहभागिता, मानव–बाघ द्वन्द्व न्यूनीकरण र बाघ संरक्षणमा अबको बाटो विषयमा छलफल भएको थियो । 

कार्यक्रममा वन मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघ पारिस्थितिक प्रणालीको उच्च तहका रहेको प्रजाति भएकाले यसको संरक्षण भएका खण्डमा समग्र वन, वनस्पति र अन्य वन्यजन्तुसमेत संरक्षण हुने बताउनुभयो । 

उहाँले वन नीति २०७१, जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४), बाघ संरक्षण कार्य योजना (२०१६) अनुसार कार्यक्रम सम्पन्न गर्न सबै सम्बद्ध पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सचिव माथेमाले बाघ र मानिसबीच बढ्दो द्वन्द्वलाई न्यूनीकरण गर्न उचित व्यवस्थापनमा सबैको सहयोग चाहिने उल्लेख गर्नुभयो । 

कोषका सदस्यसचिव गोविन्द गजुरे र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले बाघ संरक्षणसँगै मानिससँगको सम्बन्धलाई सुमधुर बनाउनेतर्फ कार्यक्रम ल्याइनुपर्ने धारणा राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ