प्रकाश बम, चैत १, डोटी / करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण दिपायलमा कार्यरत एक जना कर्मचारीको मृत्यू भएको छ । प्राधिकरणमा ज्यालादारीमा कार्यरत कर्मचारी बाजुराका राजेन्द्र खत्रीको ज्यान गएको हो । जिजोडामाण्डौ गाविसको उच्चाकोट र छोया भन्ने ठाउँमा बिग्रिएको विद्युत मर्मतका लागि गएका प्राधिकरणका कर्मचारी खत्रीको आईतबार बेलुका करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय दिपालयले जानकारी दिएको छ ।
बिग्रिएको ठाउँमा मर्मत गरिरहेका बेला सबस्टेसनबाट कटौती गरिएको विद्युत खोलिएका कारण खत्रीलाई करेन्ट लागेको थियो । सबस्टेसनबाट कसले र किन विद्युत खोलेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिमबहादुर मल्लले जानकारी दिनु भयो ।