साउन २८, नवलपरासी । गएरातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।

दाउन्ने क्षेत्रमा लगातार रुपमा पहिरो खसेकाले गएराति १० बजेदेखि नै सवारी आवतजावत बन्द भएको हो । दाउन्ने सडक खण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएको छ । भासिएको सडकमा ट्र्याक खोल्ने काम भइरहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले बताउनुभयो ।

सो क्षेत्रमा करिब सात मिटर जति सडक भासिएको इलाका प्रहरी कार्यालय, बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिनुभयो । सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसिरहँदा आज साँझसम्म यातायात सञ्चालन हुने सम्भावना अनिश्चित भएको छ ।

दाउन्ने आसपासका कम्तिमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

हजारौं यात्रु अलपत्र

नवलपरासीमा सडक अवरुद्ध भएसँगै हजारौँ यात्रु अलपत्र परेका छन् । दाउन्ने पूर्व र पश्चिम करिब १० किलोमिटरसम्म सवारी साधनको लाम लागेको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ती पाएका छन् ।

सीमित रकम लिएर गन्तव्यमा हिँडेका यात्रुलाई दुम्कीबास, अरुणखोला, चोरमारा, बर्दघाट, चिसापानीलगायत स्थानमा व्यापारीले चर्को मुल्यमा खाद्यवस्तु बिक्री गरिरहेका छन् ।

सो क्षेत्रमा चाउचाउको मूल्य रु १०० र स्याउको मूल्य प्रतिकिलो रु ३०० पुगेको छ । एउटा चाउचाउ उमालेर खाँदा रु १०० तिर्नु परेको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । रासस

August 12, 2017
काठमाडौँ - KTM, नवलपुर - NWL, समाज
दाउन्ने सडकखण्ड अझै सञ्चालन भएन, हजारौं यात्रु अलपत्र
By kit
4 मिनेट पढाइ