पढ्न करिब 2 मिनेट लाग्छ

असोज ९, चितवन। अति सीमान्तकृत समुदाय चेपाङ उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा जुटेको छ ।

दशैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । दलबहादुर चेपाङले पसलका साहुलाई पछि पैसा तिर्ने सर्तमा चामल, नून, तेल, मसला खरिद गर्नुभयो । पैसा नभएपछि उहाँले उधारोमा सामान लिनुभएको हो ।

कतिपय चेपाङ बोका, ठेकी, डोका, डाला बेचेर दशैँको जोहोमा जुटेका छन् भने केहीले गहत र मास फलेपछि त्यसबाट आएको पैसा दिने प्रतिबद्धता जनाएर उधारोमा चामल, तेल, नून, मसला खरिद गरेर लगेका स्थानीय लक्ष्मण चेपाङले बताउनुभयो । केहीले दशैँ सकिएपछि ज्याला मजदुरी गरी उधारो तिर्ने बताएका छन् ।

ऋण तथा उधारोमै भए पनि मीठो मसिनो खाएर, नयाँ लुगा लगाएर रमाइलो गर्ने योजना बनाएको नेपाल चेपाङ संघका अध्यक्षसमेत रहनुभएका लक्ष्मण चेपाङ बताउनुहुन्छ । आफ्नो उब्जनीले चेपाङलाई वर्षभरि खान पुग्दैन । खोरियामा फलेको अन्न केही महिनाका लागि मात्रै हुन्छ । छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्ने चेपाङ समुदाय चेली भेला गर्ने तथा बाहिर गएका आफन्त जमघट हुने भएकाले दशैँको जोहो गर्न जुटेको छ ।

नेपाल चेपाङ संघका केन्द्रीय कोषाध्यक्ष रवीन्द्र चेपाङका अनुसार नेपालमा करिब ७० हजार चेपाङको बसोबास छ । चितवन, मकवानपुर, गोरखा, धादिङ, लमजुङ र तनहुँमा विशेषतः चेपाङको बसोबास छ । मकवानपुरबाट गएका केही चेपाङ बाँके र बर्दियामा पनि बस्दै आएका छन् ।

खाना सकिएका बेला गिठा र भ्याकुर खोजेर खाने चेपाङले हिन्दूले झैँ घटस्थापनादेखि नै दशैँ नमनाउने गर्छन् । उनीहरुको छुट्टै सांस्कृतिक महत्व रहिआएको छ । संविधानसभाका सदस्यसमेत बन्नुभएका गोविन्द चेपाङ श्रीमान्–श्रीमती पक्का बनाउन गोडा फर्काउने चलन रहेको बताउनुहुन्छ । श्रीमती ल्याएपछि माइती बुझाउने चलन दशैँमै गर्नुपर्ने तथा नसक्नेले माघमा गर्नुपर्ने चलन रहेको उहाँ बताउनुहुन्छ ।

विभिन्न संघसंस्थाले चेपाङका लागि कार्यक्रम चलाए पनि उनीहरुको दिगो आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम खासै सञ्चालन हुने सकेका छैनन् । त्यसैले चेपाङको जीवनस्तर सोचे जसरी अघि बढ्न सकेको छैन । रासस