कात्तिक ३, कञ्चनपुर, (रासस) | भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ ।

नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।

धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोत्न छाडेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन् । धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद सिर्जना भएको थियो ।

धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए । विसं २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन् । खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन् ।

October 20, 2017
कन्चनपुर - KNC, काठमाडौँ - KTM, समाज
भारतीय सीमा सुरक्षा बलले नेपालीलाई खेत जोत्न दिएन
By साझासवाल
3 मिनेट पढाइ