सन्तोषकुमार गुप्ता । दाङ २४ भदौ । लामो समयदेखिको बन्दको मारमा परेका यातायात व्यवसायीहरुले बिहीबारदेखि गाडी चलाउने भएका छन् । यसपूर्व घोराही–तुलसीपुरलगायतका स्थानी रुटहरुमा र रात्रिकालिन समयमा दाङ–काठमाडौं गाडी सञ्चालनमा ल्याएका व्यवसायीहरुले भोलिदेखि सबै रुटमा गाडी चलाउन लागेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।
घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै योगीले भोलिदेखि यातायातका साधनहरु सञ्चालनमा ल्याउन सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो । लामो समयदेखिी बन्दले व्यवसाय तहसनहस भएको र चाडपर्वलाई मध्यनजर गर्दै आजदेखि सबै रुटमा यातायातका साधनहरु सञ्चालन गर्ने योगीले जानकारी दिनुभयो । साथै योगीले आन्दोलनकारीहरुलाई निर्वाधरुपमा गाडीहरु सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो । उहाँले बन्दका क्रममा समितिका ५० वटा बसमा बन्दकर्ताहरुले ढुंगा हानेको जानकारी दिनुभयो ।