असोज ११, काठमाडौँ | गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरेको छ । सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउन लागेको हो ।
नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगको जनाएको छ ।

यस क्रममा बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित आफ्नो परिचयपत्र छाप्नका लागि तस्बिर समेत खिचाएका छन् । पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिने भएको छ ।
त्यसपछी यसै आर्थिक वर्षभित्र थप १५ जिल्लामा परिचयपत्र वितरण गर्ने लक्ष्य गृह मन्त्रालयले लिएको छ । १५ जिल्ला मध्ये प्रदेश नं १ झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुनेछ । केन्द्रमा नै ती परिचयपत्र छापेर जिल्ला लगेर वितरण गरिने छ ।
राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।
२०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो ।

