असोज १९, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारका सहप्रवक्ता मदन कोइरालाका अनुसार पप्पुका तत्कालीन अध्यक्ष हरिनाराणविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगोसहित विशेषमा मुद्दा दायर गरिएको हो ।
त्यसैगरी उनका छोरा तथा पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ नै बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।
अख्तियारले एभरेस्ट इन्जिनियरिङ कन्सलट्यान्टका प्रोप्राइटर कृष्णदेव यादवविरुद्ध एक लख ४१ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको छ । त्यसैगरी तत्कालीन डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख भानु जोशीविरुद्ध अख्तियार फरक दुईवटा बिगो दाबी गर्दै मुद्दा चलाएको छ ।
अख्तियार जोशीविरुद्ध एक लख २४ हजारको एउटा बिगो र एक करोड ९५ लाख ८८ हजार ४३७ रुपैयाँसहित जम्मा एक करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।
त्यसैगरी यही प्रकरणमा अख्तियारले डिभिजनल सडक कार्यालयका अर्का तत्कालीन प्रमुख मनोज श्रेष्ठविरुद्ध पनि ९ करोड २४ लाख २४ हजार ९९ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।
यो प्रकरणमा अख्तियारको अभियुक्तको सूचीमा अधिकांश डिभिजन सडक कार्यालय नेपालगञ्जका इन्जिनियर परेका छन् । यही कार्यालयका तत्कालीन प्रमुख राजेशकुमार यादवविरुद्ध पनि अख्तियारले दुईवटा बिगो दाबीसहित मुद्दा चलाएको छ । यादवविरुद्ध ७४ लख ५३ हजार २ सय ६९ रुपैयाँको एउटा र ३ करोड १४ लख १८ हजार ९ सय ७ रुपैयाँको अर्को बिगो दाबी गर्दै मुद्दा चलाइएको हो ।
त्यसैगरी डिभिजन सडक कार्यालयका तत्कालिन निमित्त प्रमुख नवराज केसीविरुद्ध पनि अख्तिायरले ६ करोड ९२ लाख ४६ हजार ९ सय १२ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको छ ।
त्यसैगरी यही कार्यालयका इन्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९ रुपैयाँ बिगो दाबी गरिएको छ । यही कार्यालयका इन्जिनियर हरिबहादुर खड्काविरुद्ध ७ करोड ५४ लाख ४८ हजार ६१ रुपैयाँ, इन्जिनियर दीपेन्द्रबहादुर विस्टविरुद्ध १ करोड ६१ लाख ८३ हजार ४४५ रुपैयाँ, यही कार्यालयका सब-इन्जिनियर कर्मा तेन्जिङ तामाङविरुद्ध १५ करोड ८८ लाख ४ हजार ७ सय १३ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यही कार्यालयका अर्का सब-इन्जिनियर गोविन्द गैरेविरुद्ध अख्तिायरले १ करोड ९५ लाख ८८ हजार ४३७ रुपैयाँ बिगो दाबी गरिएको छ। अख्तियारले पप्पुका तत्कालीन अध्यक्ष हरिनारायण प्रसाद साह रौनियार र उनका छोरा तथा पप्पुका अध्यक्ष सुमित रौनियारविरुद्ध समान १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ (जम्मा ३८ करोड ६३ लाख ५१ हजार ३ सय ९०) रुपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारका सह-प्रवक्ता कोइरालाका अनुसार पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भेटिएको छ।
पुल बनाउँदा नै बाङ्गो देखिएको अवस्थामा उद्घाटन नहुँदै भत्किएको उक्त पुल निर्माणको सुरुदेखि नै कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको हो ।
डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनले पोखरिया-७ को यो पुल निर्माणका लागि सम्झौता भएदेखि नै संलग्न सबै प्राविधिक कर्मचारीबाट गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कामलाई स्वीकार गरेको आरोप पनि अख्तियारको छ।
